आफ्नी छोरीकी पितासँग बिवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री आरडन

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १०:४२ मा प्रकाशित

एजेन्सी – न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनले बिवाह गर्ने भएकी छन् । उनले लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह गर्ने भएकी हुन् । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो ।

पत्रकारितामा इन्टर्न्शिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दिएको थियो । आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुई जना धेरै पहिलेदेखि सम्बन्धमा रहँदै आएका छन् । उनीहरुबीच बिवाह नभए पनि पहिलेदेखि सँगै बस्दै आएका थिए । उनीहरु दुईको सम्बन्धबाट एक छोरी छिन् ।

प्रधानमन्त्री पदमै रहँदा गर्भ बसेपछि आरडन अन्तर्रा्ष्ट्रिय मिडियामा चर्चामा आएकी थिइन् । आरडन पाकिस्तानकी पूर्व–प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा रहँदै आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन् । यही वर्ष जनवरीमा एक अन्तरवार्तामा आरडनलाई प्रेमीलाई विवाहको लागि प्रपोज गर्ने सम्भावनाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, ‘नाई ! म उनलाई प्रपोज गर्दिन । उनी आफै विवाह र प्रपोजका प्रश्नहरुको सामना गरुन् भन्ने म चाहन्छु ।’

विवाह हुने पक्का भएको समाचार बाहिरिएपछि आरडनले रेडियो न्युजिल्याण्डसँग बौल्दै भनिन्, ‘म निक्कै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जो मलाई साथ दिन्छ, जसले ठुल–ठुला जिम्मेवारी माझ मलाई साथ दियो ।’ उनले आफ्ना प्रेमीले आफुलाई धेरै नै माया गर्ने र साथ दिने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us