
काठमाण्डु, २१ वैशाख– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद तथा नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुको अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएको बताएका छन् ।
उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभभौम नेपालीको भएको बताउँदै यस्तो बताएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थिइन् । सोही विषयलाइ लिएर चर्चा भइरहँदा भट्टराईले राष्ट्रपतिले बोलेको बारेमा गलत अर्थ नलगाउन बताएका हुन् ।
उनले भने, ‘सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्रीको सरकार भन्ने अर्थ हो । शब्दको पछाडि लागेर राष्ट्रपतिजस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउनुहुन्न । शाब्दिक कुरामा अल्झिएर नीति तथा कार्यक्रमलाई ओझेलमा पार्नुहुन्न ।’ नयाँ पत्रिकाबाट