सरकारको योजनाः भारत र चीन दुवैतिरबाट काठमाण्डुमा रेल ल्याउने

काठमाण्डु टुडे २०७६ वैशाख २० गते २०:३९ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– सरकारले दुई छिमेकी भारत र चीन दुवैतिरबाट काठमाण्डुमा रेल ल्याउने महत्वाकांक्षी योजना अघि सारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाण्डुलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने उल्लेख छ । वीरगञ्ज– काठमाण्डु र रसुवागढी– काठमाण्डु रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिने घोषणा सरकारले गरेको छ । । यस्तै सरकारले जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्र रेल सेवा सञ्चालन गरिने तथा बिजलपुरा–बर्दिबास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ ।

सरकारले नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको दाबीसमेत गरेको छ । ‘पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालनमा ल्याइनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us