
काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका छन् ।
अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठकमा राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गर्न लागेकी छन् ।
राष्ट्रपतिको स्वागतका लागि वानेश्वरस्थित संसद भवन सिंगारिएको छ । राष्ट्रपति भण्डारीलाई संसद भवनमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गर्नेछन् ।
राष्ट्रपतिको सम्बोधनभन्दा आधा घण्टा अगाडि सांसदलाई आ–आफ्नो स्थानमा आशनग्रहण गर्न भनिएको छ । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।
राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्रीले सरकारका नीति तथा कार्यक्रमको पुस्तिका राष्ट्रपतिलाई हस्तान्तरण गर्ने संसदीय प्रक्रिया छ । नीति तथा कार्यक्रम वाचन गरेपछि राष्ट्रपति भण्डारी संसदबाट बिदा हुनेछिन् ।
सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न शुक्रवार नै दुवै सदनका छुट्टाछुट्टै बैठक बस्नेछन् । राष्ट्रिय सभाको बैठक साँझ साढे ५ बजे र प्रतिनिधि सभाको बैठक ६ बजेका लागि बोलाइएको छ ।