हैदराबादलाई पराजित गर्दै मुम्बई आइपीएलको प्लेअफमा प्रवेश

काठमाण्डु टुडे २०७६ वैशाख २० गते ११:०० मा प्रकाशित

एजेन्सी । सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ । मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् ।

प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ । मुम्बईमा गएराति सम्पन्न खेलमा निर्धारित २० ओभरमा दुबै टोलीले समान १६२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । जसप्रित बुमराहको कसिलो बलिङको मद्दतले मुम्बईले सुपर ओभरमा खेल आफ्नो पक्षमा पार्‍यो ।

सुपर ओभरमा मुम्बईले ९ रने लक्ष्य पाएको थियो । हैदराबादले २ विकेट गुमाएर ८ रन जोडेको थियो । मुम्बईले ३ बलमा नै लक्ष्य पूरा गर्‍यो । हैदराबादले सुपर ओभरमा बलिङको जिम्मेवारी रसिद खानलाई दिएको थियो ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा क्विन्टन डी ककको नटआउट ६९ रनको मद्दतले मुम्बईले हैदराबादलाई १६३ रनको लक्ष्य दिएको थियो ।

मनीष पाण्डेको नटआउट ७१ रनको सहयोगले हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन जोडेको थियो। खेल बराबर भएपछि सुपर ओभर खेलाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us