बालुवाटार जग्गा प्रकरणबारे सरकारले लियो कठोर निर्णय

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताए ।

‘यसमा म स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला छैन, कानमा तेल हाल्ने वाला छैन’ मन्त्री बास्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन ।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नेकपा महासचिव विष्णु पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुछिए पनि छानबिन प्रभावित नहुने उनले बताए । ‘प्रश्न विष्णु पौडेल वा शेरबहादुर देउवाको होइन । सुवर्णशम्शेरको होइन’ मन्त्री बास्कोटाले भने, ‘छ भने उहाँहरुको गयो, सरकारले लिन्छ, त्यति हो सरकारले क्षतिपूर्ति पनि तिर्दैन’ उनले भने ‘महासचिव भनेर लालपूर्जामा लेखेको छैन होला । सभापति भनेर पनि लेखेको छैन वा पूर्वप्रधानमन्त्री भनेर लेखेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us