मुख्यमन्त्री लक्षित रोल्पामा फेरि बम विस्फोट

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १५:१४ मा प्रकाशित

रोल्पा, १७ बैशाख – रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो ।

तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जाँदै थिए । उक्त समयमा बम विस्फोटको भएको खबर आफूले पाएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

तर, मुख्यमन्त्रीसँगै गएका रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले भने बम विस्फोट भएकोबारे आफूलाई कुनै जानकारी नआएको बताए । भने, ‘सामान्य केही वस्तु पड्काएका होलान्, ठूलो केही होइन।

सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us