हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न भारतीय शंकराचार्यको आग्रह

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १३:२९ मा प्रकाशित

दमौली, १७ वैशाख – भारतका एक शंकराचार्यले हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न तनहुँका स्थानीयलाई आग्रह गरेका छन् । म्याग्दे ३ किलचोकमा अकलादेवी मन्दिरको शिलान्यास गर्दै काशी सुमेरु पीठाधिश्वर जगतगुरु शंकाराचार्य अनन्त विभुषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी माहाराजले नेपालमा हिन्दु धर्म संकटमा परेको बताएका छन् ।

हिन्दुको उद्गमस्थल भए पनि केही व्यक्तिको स्वार्थका कारण संकट परेको उनको भनाइ थियो । उनले देशलाई हिन्दु राष्ट्र बनाए मात्र धर्म जोगिने बताए । ‘नेपाललाई हिन्दू राज्य बनाउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि तपाईँहरु जाग्नुस् । मेरो साथ रहनेछ ।’

साढे ३ करोड लागत अनुमान गरिएको मन्दिरको शिलान्यास गर्दै उनले अकला मन्दिर पशुपतिनाथ जस्तै शक्तिपीठ भएको बताए । उनले मन्दिरबारे थाहा पाएर आफु शिलान्यासका लागि आएको बताए । उनले मन्दिरका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us