सत्तारूढ नेकपाले दियो सरकारलाई यस्तो सुझाव

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।

सरकारले आगामी २० गते शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने पहिले प्रि बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ ।

सोही नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us