अन्तर्राष्ट्रिय ब्याडमिन्टनको रजत नेपालका प्रिन्सलाई

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १५ बैशाख – नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा आइतबार भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अंकले तथा दोस्रो सेट १३–२१ अंकले गुमाएको बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । यसअघि शनिवार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए । उनले २१–९ र २१–१३ अंकले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ ।

प्रिन्सले गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यू–१५ मा इन्डोनेशियका खेलाडीलाई पराजित गरी उपाधि जितेका थिए । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us