काठमाण्डु, १३ बैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।
संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर देशको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । शुक्रबारबाट काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे ।
त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति–कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाइ छ ।
संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए ।