
बीबीसी – श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १५६ पुगेको छ । चर्च र होटलहरुमा भएका विष्फोटमा परी ४ सय भन्दा बढी घाइते भएका छन् ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार श्रीलंकाका कम्तिमा पनि छ स्थानमा बम विष्फोट भएको छ । जसमध्ये कोच्चीकाड, नेगोम्बो र बाटिकोला चर्चमा ईस्टर सण्डेलाई लक्षित गरेर विष्फोट गराइएको थियो ।
यस्तै कोलम्बोका सुविधा सम्पन्न होटलहरु सांग्रिला, सिनामोन ग्राण्ड र किंङ्गसबेरीमा पनि विष्फोट गराइएको बीबीसीले जनाएको छ ।
इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो । विष्फोटमा परी घाइते भएकाहरुको कोलम्बोका अलग–अलग अस्पतालहरुमा उपचार भइरहेको छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् ।