
एजेन्सी । युभेन्ट्सले ५ खेल अगावै सिरी ए फुटबलको उपाधि जितेको छ । यो उसको लगातार आठौं पटकको उपाधि पनि हो । गएराति गृहमैदानमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि कब्जा गरेको हो ।
३३ खेलको समाप्तिमा युभेन्टस ८७ अंकमा शीर्ष स्थानमा छ भने ३२ खेलबाट ६७ अंक भएको नेपोली दोस्रोमा छ । ६ खेल खेल्न बांकी नेपोली भन्दा स्पष्ट २० अंकको अग्रता बनाउँदै युभेन्टसले उपाधि हात पारेको हो ।
खेलको छैठौं मिनेटमा नै फियोरेन्टिनाले अग्रता बनाएपनि लोबो सिल्भाको गोलबाट युभेन्टसले बराबरी गरेको थियो । दोस्रो हाफमा उपहार गोल पाएपछि युभेन्टस विजयी बन्यो ।
यसैबीच, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, सिरी ए, प्रिमियर लिग र ला लीगाको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।
प्रेमियर लिग जित्दा उनी म्यानचेष्टर युनाईटेडमा र ला लीगा जित्दा उनी रियल मड्रिडमा थिए । यही सिजन ला लीगाबाट सिरी ए गएका उनले सहभागिताको पहिलो वर्ष नै युभेन्टसलाई जित दिलाए ।