नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने असईविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल दरबन्दी भई प्रदेश प्रहरी तालिम केन्द्र ४ नं प्रदेश पोखरामा कार्यरत रेग्मीले झुट्टा शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा रेग्मीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, वोर्ड अफ हाइस्कूल एण्ड इन्टरमिडियट एजुकेशन यूपी भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी बढुवा समेत लिएको अख्तियारले जनाएको छ ।

निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले सोही दफा बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालतमा आरोप–पत्र दायर गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us