
मोरङ, ५ बैशाख – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङमा कुकर बम फेला परेको छ ।
बिहीबार (आज) बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो ।