
एजेन्सी – किशोर कप्तान मथेइज् डि लिग्टको गोलसँगै अयाक्सले युभेन्टसलाई हराएको छ । सन् १९९७ पछि अयाक्सले पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो ।
मंगलबार राति भएको खेलमा अयाक्सले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो र समग्रमा ३–२ ले विजयी भयो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले २८ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर, ६ मिनेटपछि नै भ्रमणकारी टोलीले बराबरी गोल फर्कायो ।
खेलको ६७ औं मिनेटमा अयाक्सका कप्तानले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अब खेल जित्न युभेन्टसलाई बराबरी गरेमा मात्र नपुग्ने भयो, दुई गोल चाहियो ।
तर, उत्कृष्ट प्रर्दशन गरेको अयाक्सले त्यो अवसर नै दिएन ।
यो रिजल्टसँगै यसै सिजन रियल मड्रिडबाट युभेन्टस गएका पाँच पटकका विजेता रोनाल्डो २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् ।