
काठमाण्डु, ३ बैशाख – आज (मंगलबार) पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ ।
यो वायु प्रवेशपछि आज विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना हरेको मौसमविदले जनाएका छन् ।
यसैगरी उक्त पश्चिमी वायु भोलि बुधबार पूर्वी क्षेत्रमा सर्ने भएकाले तराईमा हुरीबतासको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९मंगलबार० पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ ।
यस्तै राति पश्चिमका धेरैजसो स्थान र मध्ये तथा पूर्वका केही ठाउँमा मेघ गर्जन, चट्याङ, हुरीबताससहित असिना पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार र बुधबार दुई दिनसम्म रहनेछ । आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।