हिन्दूराष्ट्रको एजेण्डा बोक्ने नेता कांग्रेस सभापति बन्ने !

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १७:५० मा प्रकाशित

काठमाण्डु, २ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् ।

उनले भने,‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’

पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ । भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होईन भन्ने प्रश्न उठाएका छन् ।

भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाई छ । उनले भने,‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ । कमजोर बनाएर गौरव गर्नुहुँदैन् ।’

उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको बताए । उनले भने,‘अहिलेपनि हाम्रो देशमा धार्मिक पर्यटकहरु बढि आउँछन् । सनातन हिन्दू धर्म भनेको मुलुकको समृद्धिको आधार पनि हो ।’

प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ । उनले भने,‘बुद्ध र शिवको एउटै मन्दिरमा पूजा हुन्छ ।’

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ । उनले सरकारको विरोध गर्न दिनभरि कुरा गर्दापनि समय नपुग्ने तर समर्थन गर्नको लागि एउटापनि आधार नभएको जिकिर गरे । उनले ईतिहाँसमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us