
काठमाण्डु, १ वैशाख – आइतबार बिहान लुक्लामा भएको विमान दुर्घटनामा कोपाइलटसहित तीन जनाको मृत्यु भयो । समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गएको हो । सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो ।
आज बिहान रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन । बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाएका कोपाइलट ढुंगाना बाबुबिहीन छोरा हुन् । उनलाई आमाले दुःख गरेर कोपाइलट बनाएकी थिइन् ।
सानैमा बुवाले छोडेपछि सुजितलाई उनकी आमा ल्हेमी लामाले हुर्काएकी थिइन् । स्वास्थ्य सेवामा रहेकी उनकी आमा अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन् ।
ढुंगानले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका छन् । उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा । ३४ वर्षीय सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो ।
ओखलढुंगाबाट माध्यामिक शिक्षा लिएका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए । कोर्स गरेपछि उनले सन् २०१७ को फेब्रअरीदेखि समिट एयरमा जोडिएका थिए । कम बोल्ने, निकै मिलनसार र निष्ठावान ढुंगानाले समिट एयरकै जहाज ६ सय घण्टा भन्दा बढी उडाइसकेका थिए ।