वर्षाले राेक्याे नेपाल र युएईबीचको खेल

काठमाण्डु टुडे २०७५ चैत ३० गते १४:२२ मा प्रकाशित

काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाले प्रभावित गरेको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको छ । वर्षाले खेल रोकिदासम्म युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले ।

अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे । युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।

पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us