सचिवको कार्यकक्षमा ताला लगाएका मन्त्रीसँग अन्तर्वार्ताः त्यस्ता सचिवलाई ताला मात्र लगाएर हुन्छ ?

काठमाण्डु टुडे २०७५ चैत २८ गते १४:५१ मा प्रकाशित

युवराज दुलाल प्रदेश–३ सरकारका सामाजिक विकासमन्त्री हुन् । सिन्धुपाल्चोकका दुलाल नेकपाका युवा नेता हुन् । तत्कालिन माओवादी सेनामा साहसी र लडाकु कमाण्डर थिए दुलाल । ०६२/०६३ को राजाविरोधी जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा थानकोट प्रहरी चौकीमा आक्रमण गर्ने कामको नेतृत्व गरेका थिए उनले । माओवादी शान्तिप्रक्रियामा आएपछि लामो समय उनले पार्टी अध्यक्ष प्रचण्डको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाले । त्यही कारण उनको अहिले पनि प्रचण्डसँग गहिरो सम्बन्ध छ । हक्की स्वभावका दुलाल आफ्ना कुरा प्रष्टसँग राख्न सक्छन् । आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाएपछि उनी अहिले चर्चामा छन् । काठमाण्डु आएका बेला दुलालसँग काठमाण्डुटुडेले त्यस प्रकरणबारे कुराकानी गरेको छ । प्रस्तुत छ, दुलालसँगको कुराकानीको सम्पादित अंशः–

मन्त्री भएर सचिवको कार्यकक्षमा ताला लगाउन मिल्छ ?

उहाँलाई त बर्खास्त गर्नुपर्ने हो । अफिसमा ताला मात्र लगाएको मात्र हुँ । उहाँले गरेको कुकर्मका लागि त्यो कारबाही कम भयो ।

त्यस्तो गर्नुपर्ने अवस्था किन आयो ?

उहाँ मेरो मन्त्रालयमा सचिव भएर करिब २५ दिनजति बस्नुभयो । त्यो बीचमा एउटै फाइलमा सही गर्न मान्नुभएन । नाजायज स्वार्थ राखेर जनताको काम रोक्नुभयो । फाइल सदर गराउन गएका कर्मचारीसँग सिधै स्वार्थ राखेर कुरा गर्नुभयो । यो काम गर्दा तिमीहरुले के पाउँछौ ? मलाई कति आउँछ ? यस्तो भन्ने हो सचिवले ?

काम रोकेकै भए पनि सम्झाएर लगाउन सकिन्नथ्यो र ? तालै लगाउनुपथ्र्यो ?

कति सम्झाएँ कति । तलका कर्मचारीलाई काम किन भएन भनेर सोध्यो, जवाफ आउँछ फाइल सचिवज्यूकोमा रोकिएको छ । बोलाएर टिप्पणी उठेर आइसकेका फाइल किन रोक्नुभयो भनेर सोधें । उहाँले आफ्नोमा एउटै फाइल नरोकिएको बरु मातहतका कर्मचारीले कामै नगरेको आरोप लगाउनुभयो । अन्तिममा मेरो स्वकीय सचिवलाई आफ्नोमा भएका सबै फाइल बोकेर मेरोमा बोलाउन पठाएँ । उहाँले अटेर गरेर आउन मान्नुभएन । त्यसपछि म उहाँको अफिसमा गएँ । एउटै फाइल छैन भनेको मान्छे आफूभन्दा अग्लो फाइलको चाङ टेबलमा राखेर बस्नुभएको रहेछ । त्यो देखेपछि मलाई असह्य भयो । उहाँलाई बाहिर निस्कनुस् भनेर ढोकामा ताला लगाइदिएँ ।

त्यस प्रकरणमा मुख्यमन्त्री पनि तपाईंसँग रिसाउनुभएको छ रे नि ?

सही हो मसँग उहाँ रिसाउनुभयो । तर, सचिवको ढोकामा ताला किन लगाएको भनेर होइन । किन ताला लगाउन ढिला गरेको भनेर चाहिं रिसाउनुभयो । प्रदेश सरकारलाई नै असफल पर्ने नियतले सचिवले काम रोकेको उहाँलाई थाहा थियो । ताला लगाएपछि मैले जानकारी गराएँ । मुख्यमन्त्रीज्यूले तपाईंले पहिल्यै कारबाही गर्नुपर्ने थियो भन्नुभयो ।

मन्त्रीले सचिवको कार्यकक्षमा ताला लगाएपछि कर्मचारीको मनोबल गिर्दैन ? बाँकी रहेका कर्मचारीले अब तपाईंसँग कसरी काम गर्न सक्लान ?

कर्मचारी साथीहरु धेरै खुसी हुनुहुन्छ । सचिवले कोही पनि कर्मचारीमाथि मर्यादित व्यवहार गरेका थिएनन् । हप्काउने, थर्काउने, नोकरचाकरजस्तो व्यवहार गरेका थिए । बरु सचिव नहटाएको भए कोही पनि कर्मचारी काम गर्ने मनस्थितिमा थिएनन् । उहाँहरुले पछि मलाई भन्नुभयो, सचिव नहटाएको भए हामी काम गर्ने मनस्थितिमा थिएनौं । बरु उहाँहरुले मलाई त्यस्तो सचिवसँग कसरी तीन हप्तासम्म काम गर्न सक्नुभयो भनेर सोधिरहनुभएको छ । सचिवज्यू यसभन्दा पहिला पनि जागिरका सिलसिलमा धेरै ठाउँमा लफडा भएर तानिएको मान्छे हुनुहुँदोरहेछ । । यहाँ आउनुअघि उहाँ सिंहदरबारमा फजिल (काम नभएको) मा हुनुहुँदोरहेछ । बिना जिम्मेवारी बसेको कर्मचारीलाई प्रदेशको महत्वपूर्ण जिम्मेवारी दिनै हुँदैनथ्यो । संघीय मामिला मन्त्रालयको यो गल्ती थियो ।

ताला लगाएर कर्मचारीलाई सामाजिक रुपमा बेइज्जत हुने गरी नखेदेर बरु सरुवा गरिदिएको भए हुन्नथ्यो ?

उहाँ संघीय सरकारअन्तर्गतको सह–सचिव हो । सह–सचिवको सरुवा प्रदेशले गर्न मिल्दैन । त्यसैले मुख्यमन्त्रीज्यू, म र प्रदेश सरकारका प्रमुख सचिवले संघीय मामिला मन्त्रालयमा छुट्टाछुट्टै कुरा गरेर उहाँलाई हाम्रोबाट अन्तै पठाइदिन भनिसकेका छौं । सायद उहाँको सरुवा हुन्छ होला । हामीले यो पनि भनेका छौं कि उहाँलाई अब कुनै पनि महत्वपूर्ण जिम्मेवारी दिनुहुँदैन । किनकी त्यस्ता कर्मचारी जनताका सेवक हुन सक्दैनन् । अन्त गएर पनि उहाँले जनतालाई दुःख दिनुहुन्छ । मैले बाध्यात्मक अवस्थामा यो कदम चालेको हुँ । मैले त्यसो नगरेको भए उहाँले व्यक्तिगत स्वार्थका लागि ‘ब्याकडेट’ मा सबै फाइल सदर गर्ने तयारी गरिरहेको बुझें । फाइलहरुको सुरक्षाका लागि ताला लगाउनैपर्ने बाध्यता भयो । मैले अन्तिममा पनि भनेको छु उहाँलाई कि कर्मचारी भएर जनताको सेवक हुन सिक्नुस् । कामचोर प्रवृत्ति नदेखाउनुस् । यो कामचोर बस्ने ठाउँ होइन भनिदिएको छु । एउटै फाइल रोकेको छैन भन्ने मान्छेका अगाडि आफूभन्दा अग्लो फाइल देखेर मलाई असह्य भयो । मन्त्रीलाई ढाँट्ने ? मन्त्रालयको काममा बार्गेनिङ गरेर खान खोज्ने ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us