विराटनगर, ८ चैत – नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । 
खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी थिइन् । त्यसको केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ मिनेटमा खेललाई १–१ को बराबरीमा ल्याइन् ।
तर दोस्रो हाफको ६३औँ मिनेटमा भारतका लागि ग्रेस दाङमेईले गोल गर्दै भारतलाई २–१ को अग्रता बनाइन् । त्यस्तै ७८औँ मिनेटमा भारतका लागि अञ्जु तामाङले गोल गर्दै अग्रता ३–१ पुर्याइन् ।
नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । नेपाल पाँच संस्करणमध्ये चौथो पटक फाइनलमा पुगेको थियो भने भारतले लगातार पाँचौं फाइनल खेलेको हो ।
यस पटकको फाइनलमा हार व्यहोरेसँगै पहिलो पटक उपाधि जित्ने नेपालको सपना पूरा भएन ।
भारतले भने साफ महिला च्याम्पियनसिपका पाँचौँ संस्करणसम्म आइपुग्दा सबै संस्करणका उपाधि जित्दै इतिहास रचेको छ ।