काठमाण्डु, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अन्तर्गत बिहीबार त्रिशुली–३ ‘बी’ को १० हजार कित्ता खरिद गरेर कार्यक्रमको उद्घाटन गरेका छन् । उनले आफ्नो देश आफैँ बनाउ भन्दै सम्पूर्ण देशवासीलाई विद्युतको शेयर खरिद गर्न पनि आह्वानसमेत गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको भन्दै यस प्रकारका अझै धेरै कार्यक्रम आउने र अरुको हात थाप्न नपर्ने अवस्थामा सबै नेपालीलाई पुर्याउने दाबी गरे ।
स्वाभिमानी नेपालीले देश निर्माण गर्छ भन्दै प्रधानमन्त्री ओलीले देशभित्रकै पुँजीलाई संकलन गरेर देश निर्माणमा लगाइने प्रतिवद्धता जनाए । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता सेयर खरिद गरिन् ।
ऊर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले एक-एक हजार कित्ता सेयर खरिद गरे । त्रिशूली–३ बी जलविद्युत आयोजनको लागि शेयर चैत ११ सम्मका लागि सर्वसाधारणका लागि आवेदन खुला रहने छ ।