पुलवा प्रकरणले भारतलाई अर्को झट्का, वर्ल्ड रेस्लिङले तोड्यो सम्बन्ध

काठमाण्डु टुडे २०७५ फागुन २२ गते १०:२५ मा प्रकाशित

नयाँदिल्ली, २२ फागुन – कुस्तीको अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू)ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई)सँग सम्बन्ध तोड्न निर्देशन दिएको छ । हालै नयाँदिल्लीमा आयोजित सुटिङ्ग वर्ल्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको विरोधमा यू डब्ल्यू डब्ल्यूले यस्तो निर्णय लिएको हो ।

साथै भारतलाई ओलम्पिक वा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा सिफारिससमेत गरेको छ ।

गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो । पुलवा आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।

भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर र्‍यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो ।

बुल्गेरियाको सोफियामा यही मार्च ३ तारिखमा भएको डेन कोलोभ-निकालो पेट्रोव र्‍याकिङ अन्तर्राष्ट्रिय सिरिजमा भारतका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए । त्यहाँ भारतीय खेलाडीहरुले दुई स्वर्ण र चार रजत पदक जितेका थिए । इण्डियाटुडेबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us