क्रिकेट वरियतामा नेपाल एक स्थान माथि उक्लियो (सूचीसहित)

काठमाण्डु टुडे २०७५ फागुन १७ गते ९:५२ मा प्रकाशित

काठमाण्ठु, १७ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरीयताक्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औँ स्थानमा उक्लिएको हो ।

आईसीसीका अनुसार नेपालले सात खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरीयता काम गरेको हो । यसअघि नेपाल १५ औँ स्थानमा थियो । १८ देशको वरीयतामा पहिलोमा पाकिस्तान, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा दक्षिण अफ्रिका र पाँचौँमा इंग्ल्याण्ड रहेका छन् ।

न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म छन् । स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स ११ औँ, १२ औँ र १३ औँ स्थानमा छन् । १४ औँ नम्बरमा परेको नेपालभन्दा पछि १५ औँमा यूएई, १६ औँमा हङकङ, १७ औँमा आयरल्याण्ड र १८ औँमा ओमान छन् ।

यसैबीच, टी–ट्वेन्टीकी खेलाडी वरीयतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का अलराउण्डरतर्फ ३७ औँ स्थानमा उक्लिन सफल भएका छन् । ७६ अंकसहित सोही स्थानमा पाकिस्तानका इमाद आसीम र नेदरल्याण्डका मिचेल रिप्पोन छन् । भारतीय अलराउण्डर रोहित शर्मा भने टी–ट्वेन्टी वरियतामा पारसभन्दा पछाडि ४० औँ स्थानमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us