नख्खु बम विस्फोटपछि हेमन्तप्रकाश ओलीको सनसनीपूर्ण अन्र्तवार्ता बाहिरियाे

काठमाण्डु टुडे २०७५ फागुन १३ गते १४:३७ मा प्रकाशित

ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लियो । सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरे ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ‘दुःख लागेको’ उनले बताए ।

विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ ’निशाना नबनाएको’ ओलीको भनाइ छ ।

एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ’लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरे ।

संसद्को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा ‘संविधानविरोधी तत्व’को संलग्नता भएको बताएकै दिन ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो । प्रस्तुत छ नेता हेमन्तप्रकाश ओलीसँग बीबीसीले लिएको अन्तर्वार्ताः

एउटा बटुवा बाटो हिँडिराख्दा, घर जान लागेको मान्छे, घर पुगेन, ज्यान गुमायो अनाहकमा । यसलाई सानोतिनो घटना भन्न मिल्छ ?

हैन, हामीले त्यस्तो भनेकै छैनौं ।

अहिले भर्खर तपाईले सानोतिनो घटना हुन जान्छ भन्नुभयो ।

यस्तोचाहिँ घटनाहरु हुन सक्छन्, हैन ? तर, चाहिँ हामीले यो कुनै निशाना हैन । जुन, बटुवा, जो मानिसचाहिँ त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।

यसरी दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्तजी ?

त्यसो त तपाईको चाहिँ सिरियाका लाखौं जनताको त ज्यान र्फकँदैन नि ।

हेमन्तजी, तपाईकै शब्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ । यहाँभित्र दबाव दिने अथवा त्यसरी बम बिस्फोट गराएर अनि त्यो के फर्किन्छ ? त्यसरी तपाईले भनेको उद्देश्य या ध्येय प्राप्त हुन्छ ?

तपाईले के बुझ्नोस् भने न्यायपालिका अथवा सरकारका कुनै पनि निकायले त्यसप्रति ध्यानै दिएनन् । स्वयं न्यायालय नै त्यसबाट प्रभावित बने ।

यहीँनेर रोक्न खोजें हेमन्तजी, त्यसो भए एउटा पार्टी नै राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ ?

हैन, यो राज्य अन्यायपूर्ण छ भनेर हामीले त्यसका विरुद्ध वैकल्पिक र प्यारालाल राज्यकै घोषणा गरिसकेका छौं नि ।

सरकारले तपाईहरुले भनेकै शब्दमा यो वैकल्पिक राज्यले अनाहकमा ज्यान लियो नागरिकको, ठाउँठाउँमा विस्फोट गरायो, यसको चाहिँ कडाभन्दा कडा कारवाही गर्छौं भनेर भनेको छ राज्यले । अब त्यो कारवाहीका लागि तयार हुनुहुन्छ तपाईहरु ?

यसरी सरकारले चाहिँ फेरि न्यायपूर्ण कार्यलाई अन्यायपूर्ण तरिकाले चाहिँ आउन थाल्यो भने नेपाली जनताले चाहिँ नराम्रोसित प्रतिरोध गर्नेछन् । यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।

तपाईले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विस्फोटको सर्वत्र निन्दा र भत्सर्ना हुँदैछ, ती भत्सर्ना गर्ने नेपाली जनता हैनन् ?

हैन, हामीले त भनिसक्यौं त, हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुःख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं ।

अब अन्त्यमा हेमन्तजी, तपाईहरुले भन्ने गरेको यो क्रान्तिका लागि अझ कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र, जसको बलिदानीको उपलब्धीमा टेकेर तपाईहरुले राजनीतिक स्वार्थ पूरा गर्नुहुन्छ ?

हैन, योचाहिँ कुरा हामीले आज प्रचण्ड र बाबुरामहरुलाई पनि सोध्नुपर्छ । बादलहरुलाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले चाहिँ अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ । र, हामीचाहिँ यस्ता कमी कमजोरीहरु हुन नदिनका लागि पूर्णरुपले सचेत हुनेछौं ।

तपाईहरुले वार्ताको कुरा पनि गर्नुभएको छ, यो वार्ता चाहिँ सरकारलाई अल्झाउने खेल त होइन नि ?

हामीले वार्ताको कुरा गरेका हैनौं, उनीहरुले गरेको वार्ताको कुराको जवाफ कहिलेकाहिँ दिने गरेका छौं ।

तपाईहरु शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् तपाईहरुका माग सम्वोधन होस् भन्ने पक्षमा हुनुहुन्न ?

हैन, हामी समस्याको समाधान होस् भनेर पर्खिराखेका छौं । तर, पनि कुनै समस्याको समाधान हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।

ए, त्यो पर्खिँदै गर्दा यता विस्फोट पनि गराइहाल्नुभो, वार्ताबाट निकास निस्कोस् भन्ने त्यतिसम्म कुर्न सक्नुभएन ।

हैन, वार्ता गर्नै चाहँदैन सरकारचाहिँ । वार्ताको कुनै विषयवस्तु नै क्लियर छैन । अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाका विरुद्ध बन्दूक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन् । त्यस्तै किसिमले हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।

विगतको नेतृत्वले गल्ती गर्यो भनेर आफैंले भन्नुभयो । र विगतको नेतृत्वले जुन काम र्गयो, जुन बाटोमा हिँड्यो, त्यही बाटो तपाईहरु अपनाउँदै हुनुहुन्छ, तीभन्दा तपाईहरु कसरी फरक हुनुभयो ?

जुन बाटोमा हामी अघि बढिराखेका थियौं, आमूल परिवर्तनको बाटोमा, क्रान्तिको बाटोमा, वर्ग संघर्ष छाडेर वर्ग समन्वयनतिर लाग्यो र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेर चाहिँ सत्तामा पुगेको छ ।

कतिपयले त के भन्ने गरेका छन् भने तपाईहरुले केही चन्दा माग्नुहुन्छ, मोटो रकम माग्नुहुन्छ, त्यो रकम नपाएपछि तपाईहरुले बिस्फोट गराउने गर्नुहुन्छ । तपाईहरुको यो कुनचाहिँ वाद हो ?

अब हामीले के बुझौं भन्दाखेरि योचाहिँ भ्रमतिर कोही पनि लाग्न हुँदैन कि हामी कसैबाट मोटो रकम लिनका लागि यस्तोखालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छौं । योचाहिँ असाध्यै भ्रमपूर्ण कुरा हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us