काठमाण्डु गोल्डेन्सले डीपीएल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७५ फागुन १० गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १० फागुन – काठमाण्डु गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाण्डु गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन् ।

तोकिएको समयमा काठमाण्डु गोल्डेन्स मैदान प्रवेश नगरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए ।

यसअघि बिहीबार काठमाण्डु गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डीपीएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

काठमाण्डुले त्यसकै विरोधमा खेल बहिस्कार गरेको हो । उसले शुक्रबारको क्वालिफायर मात्रै नभएर कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ ।

अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us