काठमाण्डु, १० फागुन – महिला टि–२० र एक दिवसीय विश्वकपको एसिया छनोटमा नेपालले यूएईबाट ४२ रनको सामान्य लक्ष्य पाएको छ ।
बैंककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई १७.३ ओभरमा सबै विकेट गुमाएर ४१ रनमा समेटियो ।
यूएईकी चामिनी सिनेविर्तनाले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकिनन् । नेरी थापाले नेपालका लागि उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि यूएई सो स्कोरमा समेटिएको हो ।
नेरीले ३.३ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिन । यस्तै सिता रानामगर, कबिता कुँवर र सोनु खड्काले नेपालका लागि २–२ विकेट लिइन् ।
नेपाल यसअघि भएको पहिलो खेलमा मलेसियाविरुद्ध ४१ विजयी भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेत गरी ७ टोलीको सहभागिता रहेको छ ।
प्रत्येक टोलीले राउण्ड रोबिन लिग फर्म्याटमा एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपको ग्लोबल छनोट खेल्ने पाउनेछ ।