बाबुरामको नयाँशक्ति छोड्ने पूर्वअभ्यास !

काठमाण्डु टुडे २०७५ फागुन ९ गते ११:१९ मा प्रकाशित

 

भूतपूर्व कामरेड एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू,
नमस्कार ।
कर्णाली प्रदेश प्रवेशको क्षणमा दौरा, सुरूवाल, कोट र टोपी अनि एडिडाज जुत्ताको पोशाकमा ठाँटिएको देखें । खुशी लाग्नुपर्ने बेग्लै कारण होइन, क्रमशः बदलिनु भएकोमा सामान्य नै लाग्यो । तपाईको बौद्दिकता, सरलता, गंभीरता, निरन्तर अध्ययनशीलता, सरकार प्रमुख हुँदा काठमाडौको बाटो फराकिलो पार्न तथा अर्थमन्त्री हुँदा राजश्व बढाउन लिनुभएका निर्णय र गर्नुभएका कठोर मेहेनत स्मरणीय, स्तुत्य र ऐतिहासिक थिए ।

तर आज तपाईंको प्रधानमन्त्रीकाल डा. के आई सिहको कालजस्तै भइरहेको छ । मदन राई, करिष्मा मानन्धर आदि तपाईका अहिलेका सहयोद्दाहरूले नयाँ शक्ति नेपाललाई साच्चिकै वैकल्पिक शक्ति बनाउने छन् त रु तपाईं कर्णाली प्रदेशतर्फ लाग्नुभएपछि रसुवामा प्रदेशसभा सदस्य र जिल्ला अध्यक्षसहित तपाईको पार्टी नै रित्तिन थालेको खबर छ । संगत गुनाको फल भनेको सायद यही होला १ २०७४ सालको निर्वाचनमा तपाईले जुन कागती रोप्नुभएको थियो, त्यसमै फल लाग्न थालेछ क्यार ? कागती रोपेर सुन्तला फल्ने त कुरै थिएन र भएन । संभवतः यो प्रचण्डसँगको अन्तरसंघर्षको परिणति हुनुपर्दछ । मार्क्सवाद परित्याग गरेपछि यहाँ पुग्ने निश्चितप्रायः नै थियो ।

यो पोशाक कर्णाली प्रदेशको मात्र होइन, तपाईका बाजेबराजु, छिमेकी गुरूङ, मगर, पूर्वका राई, लिम्बू, काठमाण्डु वरिपरिका तामाङ र कर्णाली अनि सुदूर पश्चिमका खस सबैजसोका पुर्खाहरूले यो पोशाक लगाउने गर्दथे । जहाँसम्म तपाईले लगाएको ढाकाटोपी छ, यो नेहरू टोपीबाट प्रभावित भई दिल्ली संझौतापछि स्वदेश फर्कदा राजा त्रिभुवनले पहिलोपल्ट लगाउन शुरू गरेर गौचरन एयरपोर्टमा ढाका टोपी लगाएर आएको पाइन्छ । त्यसअघि यहाँ भादगाउँले कालो टोपी र गाउँगाउँमा सूचीकारले सिलाएका टोपी लगाइन्थे ।

जहाँसम्म तपाईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा लगाउनु भएको सुट टाई हो, नेपालमा त्यसको प्रयोग राणाहरूले गरेका हुन् । र, विश्वविख्यात कम्युनिस्ट घोषणापत्र अनुवाद गरिसकेपछि कामरेड पुष्पलालसँग भेट हुँदा व्यापारी जुद्दबहादुर श्रेष्ठले भनेका थिए रे । ‘तपाईं हामीलाई त्यसै राणाको पक्षधर भन्नुहुन्छ, यो राणाशासन गएपछि सुट टाईमा ठाँटिएर हिड्न हामीलाई रहर छैन ?’

मार्क्स– एङ्गेल्स लिखित कम्युनिष्ट घोषणापत्र (सन्१८४८) नेपाली भाषामा पहिलो अनुवाद छाप्न तिनै जुद्दबहादुरले नै विसं २००५ सालमा पुष्पलालले ३००  माग्दा ५०० रूपैयाँ उपलब्ध गराएर पार्टी स्थापनाअघि २००५ साल चैतमा प्रकाशित भएको थियो ।

अर्थात्, तपाईको देश गुनाको वेष ! भन्ने टिप्पणी इतिहास, परम्परा, प्रचलनभन्दा भिन्न मनोगत रहेको तथ्य अवगत गराउन चाहन्छु । फेरि तपाइले नौलो र नयाँ भन्ने पदावली गर्दा अनौठो लाग्ने गर्छ ।

किनभने, नौलो जनवाद भनेर जनयुद्धको नेतृत्व गर्नुभयो, संसदीय लोकतान्त्रिक गणतन्त्रमा अवतरण गर्नुभयो । नयाँ नेपाल बनाउने भन्नुभयो, तर पुरानै नेपालको स्वाधीनता र हितविरूद्द विप्पा संझौता थोपरेर जुवा खेल्नुभयो । नयाँ संविधान बनाउन संबैधानिक समितिको नेतृत्व गरेर सारा प्रक्रियामा संलग्न हुनुभयो, तर २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि आश्चर्यजनक रूपमा त्यसको विरोध गरेर तत्कालीन माओवादी नै परित्याग गर्दै मधेसतिर भर्त्सनामा जुट्नुभयो ।

अनि नयाँ शक्ति पार्टी नेपाल बनाउनु भयो । जसको नयाँपन २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा देखिइहाल्यो !?

तपाईले नयाँ र नौलो भनिरहँदा कुन दिन नयाँ शक्ति पार्टी समेत छाडेर वा विघटन गरेर अर्को नयाँको खोजीमा जुट्नुहुने हो ? प्रश्न उठिरहेछ । नयाँ पोशाक त्यसकै पूर्वाभ्यास त होइन ?

जय देश, जय कर्णाली !
(सूर्य थापा नेकपाका नेता हुन् ।)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us