थाइल्याण्डले नेपाललाई दियो १२५ रनको लक्ष्य

काठमाण्डु टुडे २०७५ फागुन ९ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, ९ फागुन – बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीबाट १२५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो । उसका लागि चानिदाले सर्वाधिक ३५ रन बनाउँदा नेउमोल चाउमाईले ३२ तथा वाङपाकाले २७ रन बनाइन् । नेपालका लागि कविता कुँवर र नेरी थापाले २–२ विकेट लिइन् भने करूणा भण्डारी र रूविना क्षेत्रीले १–१ विकेट हात पारे।

सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै हुनेछ। प्रतियोगिताको दाबेदार मानिएका यी दुई टोलीको खेलले छनोटको लगभग टुंगो लाग्नेछ ।

प्रतियोगिताको दुबै टिम उपाधिका दावेदार हुन् । एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।

त्यसैले नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डबिरुद्धको खेलका लागि विशेष ध्यान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us