तोरी र कोदोको मिश्रण जस्तो नहोस् नेकपा !

-लक्ष्मण घर्ति मगर २०७५ फागुन ३ गते १३:२५ मा प्रकाशित

बाध्यता या कर्मले, थुप्रै हण्डरथक्कर पश्चात जीबनको आधा बसन्तमा बाँकी जिन्दगी सँगै बिताउँने भनि अधबैँसे जोबन साटेका दम्पति जस्तै हो यो पूर्व माओबादी र पूर्व एमालेको समिकरणबाट बनेको वर्तमान नेकपा(नेपाल कम्युनिष्ट पार्टी) ।

ति अधबैँसे दाम्पतिले आफ्नै खालका पुर्वार्ध सुखदुखहरू दुबैले स्वीकारेर नगए सम्म जीबनको पाँग्रा क्यै गरी पनि गुडाउँन सक्दैनन, अन्यथा अन्तर कलह र मुनमुटावको बिजारोपण हुन्छ, उनीहरूको वैवाहिक जीबन असफल हुन्छ । नेकपाको हकमा पनि दुरुस्तै त्यै हो । देखावटी एकता गरेर मात्रै हुँदैन । दुबै पार्टीका छुट्टाछुट्टै इतिहास जो छन ति सबै–सबै आफ्नै इतिहास सम्झि स्वीकारेर नगए सम्म एकताले कुनै हालतमा सार्थकता पाउँदैन ।

तोरी र कोदोको गेडा सँगै मिसाईयो भने मात्रात्मक हिसाबले त्यो धेरै देखिन्छ र झण्डै उस्तै–उस्तै पनि देखिन्छ । तर गुणात्मक रुपमा किमार्थ ति दुईको मिलन बिन्दु भेटिँदैन । दुबैले आ–आफ्नै बिशेषता देखाईहाल्छन । र अन्तत त्यो मिसावट निरर्थक बन्छ । बिगत ८–१० महिनादेखी पुर्ण रुपमा एकता हुन नसकिरहेको नेकपाको पछिल्लो हविगत र बिशेषतामा पनि कहीँ न कहीँ तोरी र कोदोको मिश्रण जस्तो र अधबैँसे जोबन साटेका तर एकअर्काको सुखम दुखम स्वीकार गर्न नसकेका दाम्पत्यको सम्बन्ध जस्तो देखिन थालेको छ । कतै न कतै आ–आफ्ना खास बिशेष्ता र पारा देखाउन खोज्दै छन् । यसको प्रष्ट दृश्य पूर्व माओबादीले मनाउँदै आएको महान जनयुद्धको २४औँ जनयुद्ध दिवसको अवसरमा शहिदहरूको स्मृति दिवस कार्यक्रम मनाउने क्रममा र प्रक्रियामा देखिएको बडो नमिल्दो समय–सन्दर्भमा देख्न सकिन्छ, जुन फागुन १ गते देखियो ।

प्रचण्डले केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्द दिवसको सट्टा नाम परिवर्तन गरेर आयोजना गरीएको ‘जनआन्दोलन र जनयुद्दका सहिदहरूको स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रमममा बडो मत्थर र समानुपातिक मन्तब्य राखेका थिए ! एकताको यो परिप्रेक्ष्यमा कुनै एकको मात्रै गुनगान गर्न नमिल्ने कुराको प्रष्ट सन्देश उहाँको शब्दहरूको भावले बुझाईरहेको थियो । दुबै अध्यक्षको सहमतिमा यो कार्यक्रमको आयोजना गरिएको तर अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको बिशेष कामले आउन नसकेको भन्ने प्रचण्डले जनयुद्धको उत्थान मिति फागुन १ लाई मात्रै सम्झेनन्, पुर्व एमालेको झापा बिद्रोहको पनि स्मरण गरे, स्वर्गीय नेता मदन भण्डारीलाई पनि सम्झे । र उनले आफ्नै पहलमा मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता गरियो भने त्यो साँच्चै नै मदन भन्डारीको सम्मान हुने सोचेर जेष्ठ २ गते नै पार्टी एकता गरिएको पनि बताए ।

प्रचण्डले पूर्व एमालेको लागी मदन भण्डारी स्मृति दिवस बिशेष रहेको र पूर्व माओबादीको लागी जनयुद्ध दिवस विशेष रहेको हुँदा ति दुईको एकताबाट बनेको यो नेपाल कम्युनिस्ट पार्टी (ने क पा )ले यी दुवै दिनलाई विशेष सम्झना र सम्मानका साथ मनाउनु पर्छ, भन्दै गर्दा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने त्यो ऐतिहासिक दिनको उत्सवपुर्ण कार्यक्रममा त गएनन् नै तर बिडम्बना प्रधानमन्त्री रोजÞगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा त्यत्रो लामो सम्बोधन गर्ने क्रममा पनि आफ्नो पार्टी कार्यालयमा भईरहेको ‘जनयुद्द दिवस’ अर्थात सहिदहरूको स्मृति कार्यक्रमको नाममा एक शब्द पनि खर्चेनन ।

उनलाई आफ्नै अर्का अध्यक्षको सम्बोधनमा र आफ्नै पार्टी मुख्यालयमा भईरहेको त्यस कार्यक्रमबारे थाहा नहुने त कुरै भएन तर त्यसबारे शब्द खर्चिन नचाहनु भनेको उनले जनयुद्ध दिवसको मत्लव नराख्नु हो, माओबादीको ईतिहासलाई स्वीकार र सम्मान गर्न नसक्नु हो र समग्रमा हिजोको माओवादी आन्दोलन र त्यसको अस्तित्वको अपमान गर्नु हो । जुन उनले प्रष्ट देखाईसकेका छन । भने अर्का बरिष्ठ नेता मादव कुमार नेपालले पनि जनयुद्द दिवस आफुहरूलाई कुनै सरोकार नरहेको बताईसकेका छन ।

तत्कालीन निरंकुश राजतन्त्र र त्यसको विभेदपुर्ण केन्द्रीकृत सत्तालाई जनयुद्दले घाँटी निचोडेर अन्तिम सास मात्रै बाँकी राखिसकेको अबस्थामा त्यै जनयुद्दको बलियो जगको डिफेन्समा थप १९ दिने जनआन्दोलनको पनि ठुलो प्रेसर र योगदान बाट प्राप्त उपल्ब्धीहरूमै रमाउँदै तिनै माओबादी र जनयुद्दले बोकेर ल्याएका एजेण्डाहरूमा रजाईँ गर्दै शहिदहरूलाई प्रक्रियागत रुपमा पनि सम्मान गर्न नसक्ने, त्यो ऐतिहासिक वर्गसंघर्षको असाधारण योगदान र अस्तित्वलाई स्विकार गर्न नसक्ने नेताहरूलाई ति जीबनको बाजी राखेर लेडेका हज्जारौँ योद्धाहरू र क्रान्ति र परिवर्तनका सम्वाहक जनताहरुले के कारणले नेता मानेर बस्ने ?

हुन त यो नै सबैथोक त हैन ठुलै बिग्रीहाल्यो भन्ने पनि होईन । तर यस्ले के शन्देश दिन्छ भने केही नामका मात्रै कम्युनिस्ट र बामपंथी तर सारमा पुरै पश्चगामी लाग्ने नेकपाका नेतृत्वबाट एकोहोरो रोटी पकाउने दुस्साहस् गरिँदैछ, कहीँ न कहीँ पार्टीमा साँडे प्रवृति देखाउन खोजिएको छ ।

यसबेला प्रश्न उठ्छ के यसरी नै एकअर्काको अस्तित्व र इतिहासको कदर गर्दै नजाने हो भने, यो दुईवटा पाइलट ले नेतृत्व गरेको नेकपा भन्ने पार्टीको वाइडबडी जहाज निरन्तर चल्ला ? र अर्को प्रश्न महान सहिदहरूको एउटा प्रक्रियागत सम्मान सम्म पनि गर्न नसक्ने नेता र नेतृत्वले के देशलाई समाजवाद उन्मुख बनाउलान ?

अन्तमा साँच्चै नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रकृयालाई सफलता पूर्वक अन्तिम रुप दिने नै हो भने एकअर्काको अस्तित्वलाई कुनैपनि हालतमा स्विकार्नै पर्छ, पारस्परिक अन्तरसम्बन्धलाई सुन्दर भावनाले जोड्नै पर्छ । एकता तिक्तता रहितको बनोस्, विभेद रहितको बनोस् । तोरी र कोदोको मिश्रण जस्तो नबनोस् । अन्यथा एक न एकदिन खण्डितको दिन भोग्नै पर्ने छ । कम्युनिस्टहरूको फुटेर कम्जोर हुने अझ सिद्दिने चलन जो छ ।

(लेखक नेकपा समर्थक हुन् । उनी हाल जापानमा बस्दै आएका छन् ।)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us