साँखुका दुई युवा ९० देशका पैसा चिनाउन हिंडे

काठमाण्डु टुडे २०७५ माघ १९ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १९ माघ– काठमाण्डुको बूढानिलकण्ठ नगरपालिकाबाट दुई युवाले मुद्रा चिनाउने अभियानमा लागेका छन् । ‘लेट्स मेक एन्टिक अलाइभ’ भन्ने नाराका साथ बूढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलका सरोज श्रेष्ठ र दिनेश श्रेष्ठ विभिन्न विद्यालयमा पुगेर देश तथा विदेशका ९० भन्दा बढी मुद्रा प्रर्दशनी अभियानमा जुटेका हुन् ।

मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक तथा शैक्षिक गुणस्तर कमजोर भएका सरकारी बिद्यालयको सुधारका लागि सहयोग गर्ने सरोज बताउँछन् । सङ्कलित रकम विद्यालयका साथै सामाजिक कार्यमा समेत खर्च गर्ने सोच रहेको उनले बताए ।

चुनिखेलको नौलिन माध्यमिक विद्यालयबाट मुद्रा पहिचानको अभियान शुरु गरिएको दिनेशले बताए । आफ्नो मामाबाट प्रभावित हुनुभएका सरोजले सङ्कलन गरिएका ५० देशका ९० भन्दा बढी मुद्रा प्रदर्शनीमा राखेका छन् ।

मुद्रा अवलोकन गर्नाका साथै विभिन्न देशका मुद्रा स्वरूपबारे ती युवाले विद्यार्थीलाई जानकारी दिने गरेका छन् । सानै उमेरदेखि देश तथा विदेशको मुद्रा सङ्कलनमा आफ्नो रुचि रहेको र सङ्ग्रह गरिएका मुद्रा विभिन्न विद्यालयमा प्रर्दशन गर्ने योजना रहेको उनीहरुको भनाइ छ ।

कुनै पनि सङ्घसंस्था वा अन्य विद्यालयले मुद्रा प्रदर्शन गर्न चाहेमा पनि आफूहरुले सहयोग गर्ने दिनेशले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us