कमजोर ब्याटिङका कारण युएईसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७५ माघ ११ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ११ माघ – एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ ।

११४ रनको सामान्य लक्ष्य युएईले ३२‍१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३‍५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us