सिरहा, १५ पुस–सिरहाको महेशवारीस्थित इलाका प्रहरी कार्यालयभित्रै जग्गाको विषयमा पञ्चायत गर्न पुगेका दुई पक्षबीच झडप भएको छ । झडपमा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा इटहर्वा ७ का राजकुमार यादव र राजेन्द्र यादव छन् । झडपमा इँटा लागेर घाइते यादवद्वयको अहिले लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको स्थानीय अशोक यादवले जानकारी दिए ।
घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर छ । उनको अनुहारमा इँटा प्रहार गरिएकाले नाकबाट रगत बगिरहेको जनाइएको छ ।
पञ्चायत भइरहेको समयमा विवाद हुँदा इटहर्वा ७ कै ओमप्रकाश यादव र सन्तोष यादवले एक्कासि इँटा प्रहार गरी विपक्षी राजकुमार र राजेन्द्रलाई घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
इँटा प्रहार गर्ने ओमप्रकाश र सन्तोष फरार भएका छन् । प्रहरी कार्यालयबाटै इँटा प्रहार गर्ने फरार भएपछि प्रहरीले जानेर पक्राउ नगरेको पीडितले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले सोमबार साँझ दुई पक्षबीच भइरहेको पञ्चायतमा विवाद हुँदा झडप भएको बताए । उनले इँटा प्रहार गर्ने फरार भएकाले खोजी कार्य जारी रहेको र पक्राउ परेपछि कानुनबमोजिम कारबाही गर्ने समेत बताएका छन् ।