काठमाण्डु, १५ पुस–सञ्चारकर्मीसँग जबर्जस्ती नगद, सुनको सिक्री, सवारी चालक अनुमतिपत्र लुट्ने घटनामा संलग्न तीन व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
काठमाण्डु सतुङ्गलमा विजनेस टेलिभिजनमा कार्यरत सञ्चारकर्मीलाई केही दिनअघि राति चारजनाको समूहमा आएकाहरुले लुटपाट गरेका थिए ।
उनको नगद चार हजार, सवारी चालक अनुमतिपत्र, विभिन्न कागजपत्रसहितको पर्स र एक तोला सुनको सिक्री लुटेर फरार ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काभे्र जिल्ला उग्रचण्डी गाविस ६ का जोरपाटी बस्ने ३३ वर्षीय खैरे भन्ने बालकुमार रञ्जितकार, जोरपाटीकै ३० वर्षीय रमेश श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला राम्चे गाविस २ घर भई कपन तेन्जिङचोक बस्ने २० वर्षीय विवेक लामालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
निजहरु उपत्यकामा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न हुन सक्ने सम्बन्धमा थप अनुसन्धान तथा हालसम्म फरार रहेका व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस