काठमाण्डु, १४ पुस– एकीकृत माओवादी नेता राम कार्की मीठो शैलीमा आफ्ना कुरा राख्न सिपालु छन् ।
भाषण, अन्तर्वार्ता वा अनौपचारिक कुराकानीका क्रममा कार्की मिठासपूर्ण शैलीमा बोल्छन् । तर बोल्ने क्रममा उनी कहिले काहीं चिप्लिन्छन् । सभासदसमेत रहेका उनले सोमबार संविधानसभा बैठकमा दिवंगत नेताहरुसँगै प्रदीप गिरीको पनि नाम लिए ।
उनले काँग्रेसले मुखले समाजवाद र बहुलवाद भने पछि व्यवहारमा जनतालाई संघीयतामार्फत अधिकार दिन नचाहेको आरोप लगाए ।
‘काँग्रेसका साथीहरु प्रजातान्त्रिक समाजवाद र संघीयताको कुरा गर्नुहुन्छ’, कार्कीले भने, ‘‘प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने बीपी, कृष्णप्रसाद भट्टराई, ढुण्डीराज शास्त्री र भीमबहादुर तामाङ हुनुहुन्न, प्रदीप गिरी पनि हुनुहुन्न क्यारे !’
कार्कीको भनाइमा गिरीले आपत्ति जनाए । कार्कीले बोलेपछि सभामुखमार्फत गिरीले आफू जिउँदै रहेको जानकारी गराएका थिए ।
‘उहाँको बीचैमा नियमापत्ति गर्नुपर्ने थियो तर राम कार्कीजस्तो विद्वान नेताका कुरा सुनेर म मन्त्रमुग्ध थिएँ’, गिरीले भने, ‘मलाई उहाँले दिवंगत नेताको कोटीमा राख्नुभयो । म यो जानकारी गराउँछु कि म जिउँदै छु र यहीँ छु ।’
गिरीको कुरा सेनेर सभासदहरु गलल हाँसेका थिए ।