कसले उठायो एमाओवादीमा फेरि बन्दुक उठाउने कुरा ?

काठमाण्डु टुडे २०७१ पुष १४ गते १३:४८ मा प्रकाशित

maoist flagकाठमाण्डु, १४ पुस– १० वर्ष सशस्त्र जनयुद्ध त्यागेर शान्ति प्रक्रियामा आएको करिब १० वर्षपछि एमाओवादीमा फौजी कार्यदिशाको बहसले प्रवेश पाएको छ ।

स्थायी समिति सदस्य गोपाल किरातीले उक्त विषय छलफलका लागि पार्टीमा औपचारिक रुपमै प्रस्ताव गरेका हुन् ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा किरातीले सशस्त्र फौजी कार्यदिशाविहीन कम्युनिष्ट पार्टीले वर्ग संघर्षको नेतृत्व गर्न नसक्ने भन्दै आगामी महाधिवेशनबाट समाजवादी फौजी कार्यदिशा तय गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

फौजी कार्यदिशाबिनाको एमाओवादी एमालेको अर्को संस्करणबाहेक केही हुन नसक्ने उनको भनाइ थियो । यद्यपि उनले हतियार कहिलेदेखि उठाउने भन्नेबारे परिस्थिति हेरेर निर्णय लिनुपर्ने बताए ।

‘फौजी कार्यदिशाबिनाको कम्युनिष्ट पार्टीले वर्ग संघर्षको नेतृत्व गर्न सक्दैन’, किरातीले प्रश्न गर्दै भने, ‘फौजी कार्यदिशा नहुने हो भने हामी र एमालेमा के फरक ?’
उनले माघ १५ पछि बस्ने केन्द्रीय समिति बैठकमा आफूले फौजी कार्यदिशासम्बन्धी लिखित प्रस्ताव ल्याउने जानकारी बैठकमा गराएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आफ्नो प्रस्ताव अस्वीकृत भए फरकमतका रुपमा पार्टीभित्र बहस गर्न पाउनुपर्ने माग किरातीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us