काठमाण्डु, १४ पुस– नेकपा–माओवादीको राष्ट्रिय भेला सोमबार सकिएको छ । भेलापछि पार्टीभित्र रिक्त रहेका पदहरुमा सरुवा र बढुवा गरिने भएको छ ।

तत्कालीन सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ पार्टी गठन गरेपछि उनीसँगै गएका केन्द्रीय सदस्य र अन्य नेता–कार्यकर्ताका ठाउँमा तल्ला कमिटिबाट बढुवा गर्ने र फरक कमिटीबाट सरुवा गरिने प्रस्ताव अध्यक्ष वैद्यले गरेको बताइएको छ ।
भेलामा सहभागी कार्यकर्ताहरुले भने तत्कालका लागि सरुवा–बढुवातिरभन्दा पार्टीलाई वैचारिक र सांगठनिक काममा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् ।
भेलाले तत्काल विशेष महाधिवेशनमा पनि नजाने निर्णय गरेको छ । विप्लवको विचारलाई पनि सम्बोधन गर्ने गरी महाधिवेशन गर्न खोजिएकोमा विप्लवले नयाँ पार्टी गठन गरेपछि त्यसको औचित्य नभएको भेलामा सहभागीले बताएका छन् ।
भेलामा अध्यक्ष मोहन वैद्य ‘किरण’ पेश गरेको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरिएको छ ।