यौन दुर्व्यवहार गरेको भन्दै छिमेकीले कुटेपछि ज्यान गयो

काठमाण्डु टुडे २०७१ पुष १४ गते १०:२५ मा प्रकाशित

खोटाङ, १४ पुस–छिमेकीको कुटाइबाट खोटाङमा एक व्यक्तिको ज्यान गएको छ ।

बुहारीमाथि यौन  दुर्व्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका ७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो ।

स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनका आफन्तले शनिबार राति राईलाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डु लैजाने क्रममा सोमबार बाटैमा ज्यान गएको हो ।

मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । राईलाई कुटपिट गरेलगत्तै स्थानीय ५४ वर्षीय अविबहादुर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन  दुर्व्यवहारगर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ । राई र विश्वकर्मा परिवारबीच हुने गरेका घटनाका विषयमा यसअघि पनि पटक–पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us