काठमाण्डु, १४ पुस– प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताको सोमबार बिहान बसेको बैठक बिनानिकर्ष सकिएको छ ।
संविधानका विवादमा सहमति खोज्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बुधबार फेरि अर्को बैठक बस्ने निर्णय गरेर सकिएको हो ।
विवादित विषयमा सहमति जुटाउन गठित चार पक्षीय कार्यदलले विवाद सुल्झाउने जिम्मेवारी पुन: शीर्ष नेतामै फर्काएपछि कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सोमबार बैठक बसेको थियो ।
कार्यदलले आइतबार विवादित विषय शीर्ष नेतामै फर्काएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले छलफल सकारात्मक भएको बताए ।
बुधबार बस्ने शीर्ष नेताको बैठकले संविधानका विवादमा सहमति जुटाउने दाबी उनले गरे । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाबाट गच्छदार सहभागी थिए ।