
ऐजेन्सी– विभिन्न राजनीतिक विचारधाराहरुकाबीच आम सहमतिय राजनीतिको सुत्रपात गरेको भन्दै पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र स्वर्गीय पंडित मदन मोहन मालवीयले भारतको सबै प्रतिष्ठीत नागरिक सम्मान ‘भारत रत्न’ पाउने भएका छन् ।
सम्मानको आधिकारिक घोषणा बीहीबार मात्र बाजपेयीको ९०औं जन्मदिनको दिन गरिने छ । राष्ट्रपति भवनबाट जारी विज्ञप्ति अनुसार दुवै जनाको भुमिको उच्च कदर गर्दै सो सम्मान दिन लागिएको हो ।
सन् १९९८ देखि २००४ सम्म भारतको प्रधानमन्त्री रहेका वाजपेयी बुढेसकालका कारण अस्वस्थ छन् । पछिल्ला केही बर्ष देखि उनी सार्वजनीक जीवन देखि टाडा रहदै व्यक्तिगत जिवन बाँची रहेका छन् ।
उनलाई भारतमा भारतीय जनता पार्टीका उदारवादी नेताका रुपमा लिइन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बाजपेयीलाई र मालवीयलाई भारत रत्न सम्मान दिने घोषणाले आफु खुसी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘वाजपेयी र मालवीयलाई यो सम्मान दिइने घोषणा उनीहरु दुवैको योगदानको उचित मान्यता हो ।’
मालवीयलाई स्वतन्त्रता संग्राममा उनको सशक्त भुमिका र हिन्दु राष्ट्रबादको प्रति उनको समर्थनका लागि सम्झने गरिन्छ । उनी दक्षिणपन्थी हिन्दु महासभाको शुरुवाती नेताहरु मध्ये एक थिए ।
पछिल्लो बर्ष जब यो पुरस्कार भारतका क्रिकेटर सचिन तेन्दुलकरलाई दिइएको थियो त्यसबेला यसको खुबै आलोचना पनि भएको थियो । तेन्दुलकरसँगै वैज्ञानिक सीनआर रावलाई प्रदान गरिएको थियो ।