बाध्य भएर ल्यायो सरकारले दुई सिफ्ट प्रणाली

काठमाण्डु टुडे २०७१ पुष १ गते ८:०१ मा प्रकाशित

काठमाण्डु, १ पुस– सरकारी कर्मचारीहरुले सेवाग्राहीलाई राम्रो सेवा नदिएको भनी व्यापक गुनासो र उजुरी बढिरहेको पृष्ठभूमिमा सरकारले सरकारी कार्यालयहरुमा दुई सिफ्टमा काम गर्ने भएको छ ।

VO-Ktm-Morning Service of Govt (3)

पुस १ देखि पाँचै विकास क्षेत्रका पाँच जिल्लामा अत्याधिक चाप हुने कार्यालयको किटान गरी सरकारले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म दिनको १२ घण्टा सेवा दिने भएको हो । यसबाट सरकारी काममा छिटोछरितो हुने सामान्य प्रशासन मन्त्रालयको सचिव ङइन्द्रप्रसाद उपाध्यायले काठमाण्डु टुडेलाई जनाए ।

जिल्ला प्रशासन कार्यालयको राहादानी र नागरिकता फाँट, नापी, मालपोत, यातायात, खानेपानी, विद्युत, टेलिफोनजस्ता अत्याधिक चाप हुने कार्यालयमा सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ ।

सरकारी कर्मचारीहरुले काम नगरेको र भ्रष्टाचारमा संलग्न भएको गुनासो र उजुरी बढी रहँदा सरकारले त्यसलाई समाधान गरेर सेवाग्राहीलाई छरितो र निष्पक्ष सेवा दिनुको सट्टा दुई सिफ्ट प्रणालीले आफु लोकप्रिय हुन खोजेको देखिन्छ ।

सरकारले दुई सिफ्ट प्रणाली लागु गरेर जनताको ध्यान अन्यन्त्र लैजान यस्तो गरेको बताउछन् सह–सचिवबाट सेवानिवृत्त भएका पूर्व प्रशासक बिनोद अधिकारी ।

सरकारले दिने भनेको १२ घण्टे सेवाले सेवाग्राही आंशिक लाभान्वित भएपनि त्यसले निजामती सेवालाई चुस्त र दुरुस्त बनाउछ भन्ने कुनै ग्यारेन्टी नरहेको अधिकारीले बताए । ‘यो सरकारले गरेको पपुलिस्ट काम मात्र हो, यसले लामो समयसम्म जनतालाई सेवा दिई रहन सक्दैन’, उनले भने ।

यस अघिपनि केही कार्यालयहरुमा दुई शिफ्ट अन्तर्गत काम भइरहेको र हाल आएर त्यसलाई बिस्तार गरिएको बताउँछन् सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय ।

उनले सेवा बिस्तार गर्नाले निजामती कर्मचारीहरुलाई चुस्त मात्र बनाउन नसके पनि त्यसतर्फ आकर्षित गर्ने बताए । ‘यसले जनताप्रति उत्तरदायी हुन सहयोग गर्छ’, उपाध्यायले काठमाण्डु टुडेलाई भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us