विदेशबाट गाउँको विद्यालयलाई १८ थान ल्यापटप

काठमाण्डु टुडे २०७१ पुष १ गते ३:२९ मा प्रकाशित

म्याग्दी, १ पुस– म्याग्दीको हिस्तानमा रहेको घराम्दी निम्नमाध्यमिक विद्यालयलाई स्थानीय एक व्यक्तिले १८ थान ल्यापटप सहयोग गरेका छन् । घराम्दीका होम पुनले विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन् ।

वैदेशिक रोजगारीमा संलग्न पुनले विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि ल्यापटप उपलब्ध गराएको प्रधानाध्यापक तीर्थबहादुर पुनले जानकारी दिए ।

उक्त विद्यालयको कक्षा ६ र ७ का विद्यार्थीलाई कम्प्युटर विषयको शिक्षा दिइँदै आएको छ । यसैगरी शिक्षक, गाउँका युवायुवती र सर्वसाधारणले पनि उक्त ल्यापटपमार्फत कम्प्युटर शिक्षा हासिल गर्ने अवसर पाउने भएका छन् ।

प्रावि तहसम्मको सरकारी दरबन्दीका शिक्षक रहेको उक्त विद्यालयको निमावि तह सञ्चालनका लागि हिस्तान गाविस– ३, ४ र ५ का बासिन्दाले वार्षिक रु पाँच लाख ३० हजार सहयोग जुटाउने गरेका छन् ।

विद्यालयमा निजी स्रोतका पाँच, दरबन्दीका तीन र एक जना राहत शिक्षक रहेका छन भने ४७ जना बालबालिका अध्ययनरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us