काठमाण्डु, २९ मंसिर– राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजधानीमा कहिल्यै नाम नसुनिएको एक समूहले प्रदर्शन गरेको छ ।
‘राजसंस्था पुनस्थापना संघर्ष समिति’ को नाममा केही व्यक्तिले सोमबार प्रदर्शन गरेका थिए ।
हातमा नेपालको राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले वसन्तपुरबाट नयाँबानेश्वरसम्म जुलुस निकालेका थिए । त्यस क्रममा उनीहरुले राजा आऊ, देश बचाउ, हिन्दू राष्ट्र कायम गरजस्ता नारा लगाएका थिए ।
जुलुसपछि बानेश्वरमा भएको कोणसभामा बोल्दै उक्त समूहका संयोजक विसन्तर शाक्यले ज्ञानेन्द्रलाई नागार्जुनबाट नारायणहिटी भित्र्याएरै छाड्ने उदघोष् गरे । राजतन्त्र फर्कनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने उनको जिकिर थियो ।
कार्यक्रममा श्रीमान गम्भीर बोलको पूरानो राष्ट्रिय गानसमेत बजाइएको थियो ।