तीस वर्षमा नभएको काम दश महिनामा भएको अर्थमन्त्रीको दाबी

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १३:३२ मा प्रकाशित

चितवन, २९ मंसिर– अर्थमन्त्री रामशरण महतले भारतीय प्रधानमन्त्री मोदी शैलीमा ३० बर्षसम्म हुन नसकेका कामहरु १० महिनामै भएको दाबी गरेका छन् ।

Ramsharan Mahat

‘नेपालमा ३० वर्षसम्म हुन नसकेको काम यो १० महिनामै भएको छ, अब नेपाल समृद्धितिर जाँदै छ’, महतले भने ।

उद्योग वाणिज्य संघ चिवतनको ४८औँ साधारणसभाका क्रममा अर्थमन्त्री महतले बिकास निर्माणतिर लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

मध्यभोटेकोशीको जलविद्युत् आयोजनामा सत्तारुढ र विपक्षीहरुले संयुक्तरुपमा अबरोध सिर्जना गरे भन्ने सञ्चारमाध्यममा आलोचना भैरहदा उनले आयोजनामा अवरोध सिर्जना गर्ने प्रतिगामी काम भएको बताउन समेत पछि परेनन् ।

अहिले चीन र अमेरिकाले ठूलो रकम नेपालमा लगानी गर्न लागेको बताउदै उनले अमेरिकी र चीनिया पैसाले नेपालमा समबृद्धी आउने ठोकुवा गरे ।

‘अन्तर्राष्ट्रिय क्षेत्र लगानी गर्न तयार छ, हामीले वातावरण मिलाइदिनुपर्छ’, उनले थपे । ‘नेपालमा नहुने भन्ने केही छैन, हामीले विदेशी पैसालाई आकर्षित गर्नुपर्छ ।’, उनको भनाई थियो ।

नेपाल सरकारले पाँच अर्बमाथि लगानी गर्ने, पाँच सय जनालाई रोजगारी दिने उद्योगलाई पाँच वर्षसम्म भ्याट छुट दिने र त्यसपछि तीन वर्षसम्म ५० प्रतिशत छुट दिने घोषणासमेत गरेको जानकारी दिए ।

यस्तै पर्यटन क्षेत्रमा तीन अर्ब लगानी गर्नेलाई उही नियम सरकारले घोषणा गरिसकेको उनले प्रस्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us