मधेसको नेता गच्छदार होइन, म हुँ : उपेन्द्र

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १५:१९ मा प्रकाशित

upendra yadavकाठमाण्डु, २९ मंसिर– मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको सच्चा नेता आफू भएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मधेसी जनताको नेता नभएको बताए ।

गच्छदारले तराईमा दुई प्रदेश हुन सक्छ भन्ने अभिव्यक्ति दिएकामा कडा आपत्ति जनाउँदै भने, ‘उनले त २०६९ साल जेठ २ गते नै पाँच प्रदेश स्वीकार गरिसकेका छन् । त्यसैले विजयको कुरा नगर्नुहोस, मेरो कुरा गर्नुहोस् ।’

उनले आजको दिनमा मधेसी जनताको अधिकारका लागि लड्ने नेता आफू मात्र भएको दाबी गरे । ‘अरुले सत्तामा जान मधेसमा जति प्रदेशमा पनि सम्झौता गर्न सक्छन, तर उपेन्द्र यादव मधेसी जनताको अहित हुने कुरामा कहिल्यै सम्झौता गर्दैन’, उनले भने ।

यादवले आफ्नो पार्टी मधेशमा एक प्रदेशको पक्षमा दृढ रुपमा अडिग रहेको प्रष्ट पारे । उनले आफ्नो लागि संघीयतामा नाम र संख्या ठूलो कुरा नभएको भन्दै संघीयतामा राज्यको स्रोत र साधनको उचित रुपमा बाँडफाँड गर्नुपर्ने धारणा राखेका छन् ।
उनले विगतमा ठूला राजनीतिक दलहरुले समग्र मधेश एक प्रदेशमा सम्झौता गरेको स्मरण गर्दै त्यसबाट पछि हटे कसैको पनि हित नहुने चेतावनी दिए ।

यादवले महेन्द्रकै पथ अनुसार राज्यको बाँडफाँड गरे मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने पनि ठोकुवा गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव पनि आफूलाई अस्वीकार्य भएको स्पष्ट पारे ।
सत्तामा लाग्दा संविधान ओझेलमा
यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नै सरकार परिवर्तनको खेलमा लाग्दा संविधान लेखन प्रक्रिया ओझेलमा परेको आरोप उनले लगाए ।

अध्यक्ष यादवले सत्तारुढ दल काँग्रेस र एमालेकै शीर्ष नेताले प्रधानमन्त्री सुशील कोइरालाको सरकार ढालेर आफू नै प्रधानमन्त्री बन्न तम्सिँदा संविधान लेखन प्रक्रिया अगाडि नबढेको गुनासो गरे ।
यादवले सत्तारुढ दलका नेताले आफूलाई वार्ताका लागि बोलाउँदा पनि सरकार परिवर्तनको मात्र कुरा उठाउने गरेको खुलासा गर्दै उनले भने, ‘अहिले सरकार परिवर्तनको कुरा बेमौसमी बाजा हो, अहिले सररकारको विकल्प खोजियो भने संविधान जारी गर्न सकिँदैन ।’

यादवले आफ्नो पार्टी संविधान जारी नभएसम्म र मधेसी जनताको एजेण्डा स्थापित नभएसम्म सरकारमा नजाने पनि प्रष्ट पारे ।

यादवले संविधानका मूलभुत विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्यको पूर्नसंरचनामा अझैपनि विवाद कायमै रहेको बताउँदै गाँठो फुकाउन दलहरुले जिम्मेवार भएर प्रस्तुत हुुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us