एमाओवादीले भन्यो, ‘प्रतिपक्षी भूमिका खेल्न सकिएन’

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १२:५३ मा प्रकाशित

maoist-flagकाठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीले संविधानसभा र संसदमा आफ्नो पार्टीले प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको बैठकमा सहभागी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । संविधानसभाको तेश्रो ठूलो दल एमाओवादी प्रमुख प्रतिपक्षीको हैसियतमा छ ।

‘संविधानसभामा संविधानका अन्तरवस्तु र संसदमा जनजीविकाका विषयमा सभासदहरुको भूमिका कमजोर भयो’, श्रेष्ठले भने, ‘आफ्ना एजेण्डा प्रष्ट रुपमा संसद र जनताका बीचमा राख्नु त कता हो कता, काँग्रेस–एमालेको खण्डनसमेत गर्न नसकेको अवस्था छ ।’

उनले यति ठूलो संघर्षबाट आएको पार्टीले मजदुर, किसान र श्रमजीविका एजेण्डा सशक्त रुपमा उठाउन नसक्नु दु:खद विषय भएको बताए ।

यस्तै बैठकले संविधान निर्माण कार्यतालिका र निमायमावली संशोधन गर्नु परेमा दलहरुबीचको सहमतिबेगर हुन नसक्ने निर्णय पनि गरेको उनले बताए ।

उनका अनुसार  बैठकले बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदन दलीय सहमति निर्माणका लागि फेरि समितिमै फर्काउनुपर्नेमा जोड दिएको छ ।

‘बहुमतबाट लेखिएको संविधान काम लाग्दैन’, श्रेष्ठले भने, ‘दलहरुबीच अन्तरवस्तुमा सहमति गर्न प्रतिवेदन फेरि संवाद समितमै फर्काउनुको विकल्प छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us