दलितले पानी खाएको भन्दै बाहुनले लुकाएको धारा जोडियो

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ४:३७ मा प्रकाशित
वीरगन्ज, २९ मंसिर– दलितले पानी खाएको निहुँमा उखालिएको पर्साको बैरियाविर्ता गाविस–५ नौतज टोलको कलधारा आइतबार जडान गरिएको छ ।
छुवाछुतको प्रथा अझै पनि कायम रहेको बताउँदै स्थानीय ब्रह्मदेव यादव र चोकट यादवले गाउँमा हालिएको चापाकल निकालेर लुकाएका थिए। नौतज टोलमा रहेको मठ परिसरको सार्वजनिक चापाकलमा स्थानीय लक्ष्मी राउत डोमले पानी खाएपछि धारा छोएको भन्दै गाउँका कथित उपल्लो जातिका व्यक्तिले चापाकल उखालेर लुकाएको समाचार राष्ट्रिय समाचार समितिबाट प्रकाशन भएको थियो ।

चापकल खोलेर लुकाइएपछि मठनजिकै घर भएका स्थानीय नागा सहनीले आफूहरु खोलाको दूषित पानी पिउन बाध्य भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेपछि सहनीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले तत्काल चापकल जडान गर्न इलाका प्रहरी कार्यालय पोखरियालाई निर्देशन दिएको थियो ।

प्रहरी नायब निरीक्षक बिष्णु फुँयालको पहलमा सार्वजनिक धारा जडान गर्न निर्देशन भएपछि लुकाइएको धारा बह्मदेव र चोकटले गाडेको पीडित नागा सहनीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us