
भक्तपुर, २९ मंसिर– भक्तपुरको सूर्यविनायक र गट्ठाघरका मापदण्डभित्र पर्ने सयौं घर टहरा भत्काउने कार्य रोकिँदा सडक बिस्तार कार्य अलपत्र परेको छ ।
उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरले मापदण्डभित्र पर्ने घरटहरा भत्काउन चिनो लगाउने कार्य सकेर गत जेठ महिनामा नै असारदेखि घर भत्काउने सूचना जारी गरेको ६ महिना बितिसक्दा पनि घरटहरा भत्काउने काम सुरु नहुँदा सडक बिस्तार कार्य नै अलपत्र परेको हो ।
सूर्यविनायक चोकदेखि दक्षिणमा गणेश मन्दिरसम्मको एक किलोमिटर सडक फराकिलो पार्ने क्रममा ७० र गट्ठाघरदेखि सानोठिमीसम्मको एक किलोमिटर सडक फराकिलो बनाउने क्रममा २२ वटा घरटहरा भत्काउन चिनो लगाएको महिनौं बितिसक्दा पनि घरटहरा भत्काउने काम सुरु नहुँदा अलपत्र परेको हो ।
स्थानीयको विवादका कारण घर चिनो लगाउनेलगायतका सम्पूर्ण कार्य गरिसक्दा पनि घरटहरा भत्काउन नसकिएको भन्दै कार्यालयले पन्छिदै आएको छ । कार्यालय र स्थानीयबीच घरटहरा भत्काउन सहमति भएपछि क्षतिपूर्तिका लागि धमाधम निवेदन परिसक्दा पनि स्थानीय क्षतिपूर्ति लिन नआउँदा समस्या भएको कार्यालयका प्रमुख बसन्त राईले बताए ।
घर भत्काउन स्थानीयले क्षतिपूर्तिको माग गर्दै निवेदन दिइसकेकाले अग्रिम पेस्कीस्वरुप ५० प्रतिशत क्षतिपूर्ति वितरण गरेपछि मात्रै घर भत्काइने उनले बताए । सरकारी दरअनुसार कच्चीघरको प्रतिस्क्वायर बराबर नौ सयदेखि आरसिसी पिलर ढलानको एक हजार सात सयसम्म क्षतिपूर्ति वितरण गरेर घर भत्काउन सहमति भएको थियो ।
सूर्यविनायकको पूर्वतर्फ सिपाडोल–१ र पश्चिमतर्फ कटुञ्जे–८ मा पर्ने सूर्यविनायक सडक मार्गमा १०/१५ वर्षभित्र बनाइएका संरचना भत्काएर बाटो फराकिलो बनाउन लागेपछि स्थानीयले घर भत्काउन नदिने अडान राख्दै आएका थिए ।
सूर्यविनायक सडकमा केन्द्र रेखाबाट दाया–बाया ६/६ मिटरको मापदण्ड कायम गरेर सडक फराकिलो गर्न लागिएको थियो । सो सडकमा एक/एक मिटरको पेटी, दुईतिर पर्खाल, बीचमा पिच र ढल निकासको व्यवस्थासहित बाटो फराकिलो गर्न २०६८ सालदेखि वडा नागरिक मञ्च र स्थानीयले पहल गर्दै आएका थिए ।
त्यसैगरी गट्ठाघरदेखि सानोठिमीसम्मको एक किलोमिटर सडकमा भने ११ मिटरको मापदण्ड कायम गरी सडक फराकिलो बनाउन चिनो लगाउने काम पनि सम्पन्न भएको छ । कार्यालयका अनुसार सो सडकमा केन्द्रबाट साढे पाँच मिटर दाया–बाया मापदण्ड कायम गरिएको छ ।