काँग्रेस–एमालेले राखे प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १७:०१ मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २८ मंसिर– सत्तारुढ–काँग्रेस एमालेले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको खुलासा भएको छ ।

आगामी माघ ८ मा संविधान जारी गर्ने सर्तमा प्रचण्डलाई राष्ट्रपति बनाउन काँग्रेस–एमाले तयार भएका हुन् ।

आन्तरिक विवादका कारण ६ महिनापछि आइतबार सुरु केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले काँग्रेस–एमालेले राष्ट्रपतिको अफर गरेको जानकारी केन्द्रीय सदस्यहरुलाई गराएका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले त्यस्तो प्रस्ताव आफूले अस्वीकार गरेको बताएका थिए ।

‘काँग्रेस–एमालेले माघ ८ मा संविधान जारी भएपछि तपाईं राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव गरेका छन्’, प्रचण्डको भनाइ उद्धत गर्दै ती नेताले काठमाण्डु टुडेसँग भने, ‘तर मैले पदको प्रलोभनमा परेर संविधान निर्माणका मुद्दामा सम्झौता हुँदैन भनेको छु ।’

पार्टी नेतृत्व नेता बाबुराम भट्टराईले लिने र प्रचण्ड राष्ट्रपति बन्ने हल्लाहरुकाबीच प्रचण्डको यो भनाइ आएको हो ।

संविधानसभाले संविधान जारी गरेपछि वर्तमान राष्ट्रपति र उपराष्ट्रपति स्वत: बिदा हुनेछन् । त्यसपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा निर्वाचन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us